सालपा विकास बैंकको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले आज पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ (साधारण शेयर) निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको आईपीओ बाँडफाँट भइसकेपछि अब सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबर १७ करोड २३ लाख ८८ हजार रुपैयाँको १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो, जसको बाँडफाँट भइसकेको छ। त्यस्तै ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

अब दोस्रो चरणमा २६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीका लागि छुट्याई बाँकी रहने १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो। यी शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी भएका छन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र आवेदन नपुगेमा अद्यावधिक अवधि पुस ३० गतेसम्म लम्बिन सक्छ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आईआरएन सिंगल ‘बी’ इश्युअर रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। त्यस्तै ‘मेरो शेयर’ मार्फत पनि अनलाइन आवेदन दिन सकिनेछ।

प्रतिक्रिया