काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालले इतिहासकै ठूलो रेमिट्यान्स भित्र्याएको छ। नेपाल राष्ट्र बैंकका अनुसार सो वर्षमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढ्दै १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १६.५ प्रतिशतले वृद्धि भई १४ खर्बभन्दा बढी रेमिट्यान्स आएको थियो।
केवल असार महिनामै १८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको ११७ अर्ब ७८ करोडभन्दा उल्लेख्य बढेको हो। अमेरिकी डलरमा समेत १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ।
यस अवधिमा कुल द्वितीय आय १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ। वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ पुगेको छ भने पुनः स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ। अघिल्लो वर्ष क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ मात्र रहेका थिए।