२० अर्बको रिपोमा वैंक तथा वित्तीय संस्थाबाट ३७ अर्ब माग


काठमाडौं–बैंकिङ प्रणाली तरलता अभावको समस्या जटील बन्दै गएपछि केन्द्रीय बैंकले जारी गरेको रिपोमा धेरै आवेदन परेको छ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेकोमा १४ वित्तीय संस्थाले ४७ आवेदन मार्फत ३७ अर्ब रुपैयाँ माग गरेका थिए । उक्त रिपोको ब्याजदर नै ४.९७ प्रतिशत कायम भएको छ । बैंकहरुले ४.९६ देखि ५ प्रतिशतसम्म ब्याजदरमा रिपो कबुल गरेका छन् ।


बैंक वित्तीय संस्थाले निक्षेप आकर्षित गर्नका लागि ब्याजदर बढाएको भएपनि तरलता समस्यामा भने कुनै सुधार आउन सकेको छैन् । बैंक÷वित्तीय संस्थाले निक्षेपको ब्याजदर दोहोरो अंक नजिक पुर्याउँदा पनि तरलताको समस्या झनै जटील बन्दै गएको हो । बैंक वित्तीय संस्थाहरुमा नयाँ निक्षेप नथपिएपछि तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विविध मौद्रिक उपकरणहरु जारी गर्दे आएको छ । त्यसैगरी केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाले बिहीबार मात्र १ अर्ब २० करोड रुपैयाँ बरावरको ओभरनाइट रिपो सुविधा उपभोग गरेका छन् ।


बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएपछि चालु आर्थिक वर्षको कार्तिक ११ गतेसम्ममा बैंकहरुले ११ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत रकम उठाएका छन् ।  बैंकहरुले ५४६ पटकमा यो रकम उठाएका हुन् । यस्तै बैंकहरुले सय पटकमा ४१ अर्ब ३३ करोड रुपैयाँ ओभरनाइट रिपो उपयोग गरेका छन् ।  चालु आवको कार्तिक ११ गतेसम्म केन्द्रिय बैंकले ८ पटक गरेर एक खर्ब ८० अर्ब बराबरको रिपो जारी गरिसकेको छ । अहिले रिपोको ब्याजदर नै पाँच प्रतिशत नजिक पुगेको छ । 


चालु आवको कार्तिक १० गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ४८ खर्ब ६ अर्ब रुपैयाँ रेहको छ भने वाणिज्य बैंकहरुमा ४२ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप छ । यस अवधिमा कुल ४५ खर्ब ७ अर्ब कर्जा लगानी भएको छ । यसवअधिमा वाणिज्य बैंकहरुले ४० खर्ब ७ अर्ब कर्जा लगानी गरेका छन् । 
 

प्रतिक्रिया