गत साता नेप्सेमा ३४ अंकको गिरावट, बजार पुँजीकरण ५७ अर्बले घट्यो

गत साता सेयर बजार मापक नेप्से परिसूचक ३४.१९ अंकले घट्दै कमजोर देखिएको छ। सोही साता धितोपत्र बजारको कुल पुँजीकरण झन्डै ५७ अर्ब रुपैयाँले घटेर ४३ खर्ब ६२ अर्ब ८५ करोड ७८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो साता बिहीबार बन्द भएको बजारको पुँजीकरण ४४ खर्ब १९ अर्ब ७० करोड ६९ लाख रुपैयाँ थियो।

नेप्से परिसूचक घटेसँगै बजार कारोबार पनि सुस्तिएको देखिएको छ। साता भरि जम्मा चार दिनमात्रै कारोबार सम्भव भएको थियो, किनभने बिहीबार मजदुर दिवसको अवसरमा सार्वजनिक बिदाका कारण बजार बन्द थियो। चार दिनको अवधिमा कुल ९ करोड ५२ लाख कित्ता सेयर किनबेच भई ३६ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यस साता पनि जलविद्युत् समूहले बजारमा अग्रता कायम राख्यो। नेप्सेका अनुसार जलविद्युत् उपसमूहको मात्रै २० अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन वित्तीय संस्था तथा बिमा समूहको कारोबारभन्दा झन्डै १३ अर्ब रुपैयाँ बढी हो। वित्तीय समूह तथा बिमातर्फ जम्मा ७ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको छ।

नेप्से परिसूचकमा गिरावट आउँदा अधिकांश उपसमूहको परिसूचक पनि घटेका छन्। यद्यपि, जलविद्युत्, व्यापार र म्युचुअल फन्ड उपसमूह भने उकालो लागेका छन्। जलविद्युत् उपसमूह २५.१४ अंकले बढ्दै ३५०६.९१ विन्दुमा पुग्दा व्यापार उपसमूह ६७ अंकले र म्युचुअल फन्ड शून्य दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको छ।

तर बैंकिङ उपसमूह ३०.७५ अंकले घट्दै १३०४.२१ विन्दुमा झरेको छ। यस्तै, होटल तथा पर्यटन ६३.५६, अन्य ६३.७५, विकास बैंक १२२.०६, उत्पादन तथा प्रशोधन ८६.३५, निर्जीवन बिमा १०७.८९, फाइनान्स ५२.०६, लघुवित्त ११४.९३, जीवन बिमा ११५.०५ र लगानी उपसमूह १.५७ अंकले घटेका छन्।

प्रतिक्रिया