काठमाडौँ। नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरूलाई आफ्नो चुक्ता पुँजी वृद्धि गर्न ३० प्रतिशत आइपीओ जारी गर्न निर्देशन दिएको छ। यस निर्देशनअनुसार, लघु बीमा कम्पनीहरूले आफ्नो चुक्ता पुँजीको ३० प्रतिशत हिस्सा सर्वसाधारणलाई बिक्री गर्नुपर्नेछ।
हाल नेपालमा ४ निर्जीवन र ३ जीवन लघु बीमा कम्पनीहरू गरी जम्मा ७ वटा लघु बीमक सञ्चालनमा छन्। कम्पनीहरू स्थापना हुँदा प्राधिकरणले न्यूनतम ७५ करोड रुपैयाँ चुक्ता पुँजीको व्यवस्था गरेको थियो, जसको ७० प्रतिशत संस्थापक लगानीमा राखिएको छ। बाँकी ३० प्रतिशत सर्वसाधारणमा आइपीओमार्फत वितरण गरिनेछ।
प्राधिकरणले कम्पनीहरूको आगामी वार्षिक साधारण सभामा आइपीओ जारी गर्ने प्रस्ताव राख्न निर्देशन दिएको छ। प्राधिकरणका अनुसार लघु बीमा कम्पनीहरूले पब्लिक कम्पनीको रूपमा दर्ता भई, कम्तीमा चुक्ता पुँजीको ३० प्रतिशत हिस्सा सर्वसाधारणमा जारी गर्नुपर्ने नियम लागू गरिएको हो।
यससँगै कम्पनीहरूले ७५ करोड चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नुपर्नेछ। अधिकांश लघु बीमकले बिक्री प्रबन्धकको पनि नियुक्ति गरिसकेका छन्। जीवन बीमातर्फ क्रेष्ट माइक्रो लाइफ, गार्डियन माइक्रो लाइफ, र लिबर्टी माइक्रो लाइफ र निर्जीवन बीमातर्फ ट्रष्ट माइक्रो, नेपाल माइक्रो, स्टार माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स सञ्चालनमा रहेका छन्।