बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले मुद्दा दायर गरेको छ। लामिछाने र उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहितलाई सहकारी ठगी र संगठित अपराधको आरोप लगाउँदै प्रतिवादी बनाइएको हो।
यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिसकिएको थियो, जसका कारण सुप्रिम सहकारी प्रकरणमा प्रतिवादीको संख्या ४२ पुगेको छ। रवि लामिछानेविरुद्ध चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ। पूरक अनुसन्धानपछि प्रहरीको प्रतिवेदनका आधारमा थप १४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
यसअघि रवि लामिछानेले जिल्ला अदालत कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका थिए। उता छविलाल जोशीले कास्कीमा ८८ लाख धरौटी तिरेर छुटे पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ।
सुप्रिम सहकारी प्रकरणमा यसअघि २०८१ वैशाख ३ मा सहकारी ठगी मुद्दा दर्ता भएको थियो, जसमा जीबी राई, अध्यक्ष ओमप्रकाश गुरुङ, सागर केसीलगायतलाई प्रतिवादी बनाइएको थियो। अहिले थप १४ जनाको संलग्नताबारे पूरक मुद्दा दायर गरिएको हो।