अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त

काठमाडौँ – भारतको गुजरात राज्यको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना भएको पुष्टि भएको छ। अहमदाबाद जोन–४ का डीसिपी कानन देसाईले दुर्घटना पुष्टि गर्दै घटनास्थलमा दमकलको टोली परिचालित गरिएको जानकारी दिएका छन्।

अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले बीबीसी हिन्दीलाई जानकारी दिँदै एयरपोर्ट क्षेत्रबाहिर बाक्लो धुवाँ देखिएपछि जाँच गर्नको लागि टोली खटाइएको बताए। हाल बाहिर आएका तस्बिरहरूमा बाक्लो धुवाँको मुस्लो देखिएको छ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार संस्था पीटीआईसँग कुरा गर्दै, “विमानस्थल नजिकैको मेघाणीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो। कुन प्रकारको विमान हो भन्ने जानकारी हाल स्पष्ट छैन,” भनेका छन्।

दमकल प्रमुख जयेश खडियाले दुर्घटनापछि विमानमा आगो लागेको र निभाउन दमकलका गाडीहरू खटाइएको जानकारी दिएका छन्।

एयर इन्डियाले आफ्नो एक्स (Twitter) अकाउन्टमार्फत जानकारी दिँदै आज (१२ जुन २०२५) उडान संख्या AI171, अहमदाबाद–लन्डन ग्याटविक जाने फ्लाइट दुर्घटनामा परेको जनाएको छ। एयरलाइन्सले थप जानकारी छिट्टै सार्वजनिक गरिने र हाल अनुसन्धान भइरहेको जनाएको छ।

घाइते यात्रुहरूलाई नजिकको अस्पताल पुर्‍याइएको छ र यात्रुहरूको जानकारीका लागि १८०० ५६९१ ४४४ नम्बरमा हाटलाइन पनि सुरु गरिएको छ। एयर इन्डियाले दुर्घटनाको छानबिनमा सहयोग गरिरहेको जनाएको छ।

भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) का प्रमुख फैज किदवईले बीबीसी हिन्दीलाई जानकारी दिँदै भने, “बी७८७ ड्रीमलाइनर विमानले दिउँसो १:३८ बजे टेकअफ गरेको र पाँच मिनेटमै रिहायसी क्षेत्रमा दुर्घटनामा परेको हो।”

विमानका मुख्य पाइलट सुमित सभरवाल र को–पाइलट क्लाइभ कुन्दर थिए। उक्त विमानमा २३० जना वयस्क, २ जना नवजात शिशु र १० जना चालक दलका सदस्यहरू थिए। यात्रुहरूमा १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडाली र ७ जना डच नागरिक रहेको बताइएको छ।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले एक्समा दुःख व्यक्त गर्दै भने, “एयर इन्डियाको विमान दुर्घटनाले म दुःखी छु। मैले सम्बन्धित निकायलाई तत्काल उद्धार कार्य र घाइतेको उपचार युद्धस्तरमा अघि बढाउन निर्देशन दिएको छु।”

मुख्यमन्त्रीले घाइतेको उपचारका लागि ग्रीन कोरिडोरको व्यवस्था गर्न र अस्पतालमा उपचारको सम्पूर्ण तयारी प्राथमिकतामा राख्न निर्देशन दिइएको पनि उल्लेख गरेका छन्। उनले केन्द्रीय गृहमन्त्री अमित शाहसँग पनि यस विषयमा कुरा गरेको जनाएका छन्।

गुजरातका गृहमन्त्री हर्ष संघवीले एक्समा लेख्दै मुख्यमन्त्रीको निर्देशनमा सबै अस्पताल उच्च सतर्कतामा राखिएको बताएका छन्। साथै, एनडीआरएफ र एसडीआरएफ टोलीहरू घटनास्थलमा परिचालित गरिएको र प्रधानमन्त्री कार्यालयले अवस्थामाथि बारीकीले निगरानी गरिरहेको जानकारी दिएका छन्।

विमान दुर्घटनाको कारण अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। प्रवक्ताका अनुसार, अर्को सूचना नआएसम्म सबै उडानहरू स्थगित गरिएको छ। यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो एयरलाइन्सबाट नयाँ जानकारी लिन सल्लाह दिइएको छ। BBC Hindi

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय