काठमाडौं । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण उद्योग तथा व्यवसाय क्षेत्रमा करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
नेपाल उद्योग परिसंघ (सीएनआई)का अनुसार क्षति मुख्यतया उद्योग र व्यवसाय क्षेत्रमै केन्द्रित भएको हो। परिसंघले क्षतिको विस्तृत विवरण संकलन र मूल्यांकन कार्य भइरहेको जनाउँदै यो रकम अझै बढ्न सक्ने सम्भावना रहेको उल्लेख गरेको छ।
प्रारम्भिक तथ्याङ्कअनुसार, यस घटनाले मुलुकभर करिब साढे १५ हजार रोजगारी प्रत्यक्ष रूपमा प्रभावित पारेको छ। परिसंघसँग केन्द्रमा मात्रै ३५० साना तथा मझौला उद्यमी सदस्य छन् भने मुलुकभर करिब ७ हजार सदस्य रहेका छन्।