काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका करिब १८० देश तथा क्षेत्रहरूसँग पारस्परिक भन्सार दर लागू गर्ने घोषणापछि अन्तर्राष्ट्रिय कच्चा तेलको बजारमा तीव्र गिरावट आएको छ। बिहीबारको कारोबार अवधिभर ब्रेन्ट क्रुड र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (WTI) क्रुड दुबैले उल्लेखनीय गिरावट व्यहोरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य ३.३८ डलरले घटेर ७१.५७ डलर प्रतिव्यारेलमा झरेको छ, जुन ४.५१ प्रतिशतको गिरावट हो। त्यस्तै, अमेरिकी डब्ल्यूटीआई क्रुड पनि ३.४५ डलरले घटेर ६८.२६ डलर प्रतिव्यारेलमा कारोबार भइरहेको छ, जसमा ४.८१ प्रतिशतको गिरावट देखिएको हो।
ट्रम्पको नयाँ शुल्क नीति विश्वव्यापी व्यापारमा अवरोध पुर्याउने सम्भावनासहित आएकोले लगानीकर्ताहरूले इन्धनको मागमा गिरावट आउने चिन्ता व्यक्त गरिरहेका छन्। योजनाअनुसार सबै देशबाट आयातमा १० प्रतिशतको न्यूनतम शुल्क लगाइनेछ भने केही देशहरूलाई अझ उच्च दरमा भन्सार तिर्नुपर्ने देखिएको छ।
विश्व अर्थतन्त्रमा यस नीतिले नकारात्मक प्रभाव पार्न सक्ने भन्दै विश्लेषकहरूले चेतावनी दिँदै आएका छन्। यही आशंकाले गर्दा बिहीबार दुवै प्रमुख तेल बेन्चमार्कहरूमा उल्लेखनीय गिरावट आएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पको नीतिको प्रभावले आगामी दिनमा पनि बजारमा अस्थिरता ल्याउन सक्नेछ।