१५ अर्ब लगानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नती गरिँदै


काठमाडौं– करिब १५ अर्ब रुपैयाँको लगानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नती गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबाबाट दैनिक १० घण्टा उडान बन्द गरेर बिस्तारको काम थालनी गरेको हो ।


प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम थालनी गरेको हो । प्राधिकरणले एशियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब खर्च हुनेगरी काम थालनी गरेको छ ।


स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द हुनेछन् । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले प्राधिकरणले विमानस्थल स्तरोन्नति गुरुयोजना अनुरुप विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा काम थलनी गरेको बताए ।


विमानस्थल स्तरोन्नतिले विमास्थलको क्षमता अभिवृद्धि अर्थात रन वे र ट्याक्सी वेको क्षमता वृद्धि हुने बताए । एअर ट्राफिक कन्ट्रोलरहरुलाई एअर ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने हुँदा सुरक्षामा पनि अभिवृद्धि हुने उल्लेख गरे । विमानस्थलको मुख्य धावनमार्गसँगै समानन्तर हुनेगरी ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको बताए । उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरी विमानस्थल स्तरोन्नतिको काम गर्न लागेको उल्लेख गरे । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानहरु सञ्चालन गर्न सकिने जानकारी दिए ।
नेपाल एअर ट्राफिक कन्ट्रोलर संघका अध्यक्ष तथा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यलयका प्रवन्धक विपिन बज्रचार्यले विमानस्थल स्तरोन्नति हुँदा रनवे अकुपेन्सी डेढ मिनेटको समय घट्ने बताए । उनले विमानस्थलमा हुने विमान डिले, ट्याक्सी वेमा हुने डिले समेत कम हुने उल्लेख गरे । एअर ट्राफिकहरुले सहज रुपमा एअर ट्राफिक कन्ट्रोल गर्नसक्ने अवस्था आउने जानकारी दिए ।

उनले प्राधिकरणले गर्न लागेको विमास्थलको क्षमता अभिवृद्धिले एअर ट्राफिक कन्ट्रोलर र वायुसेवा सञ्चालकहरुलाई बढी फाइदा रहेको उल्लेख गरे । वायुसेवा कम्पनीहरुलाई आर्थिक रुपमा पनि फाइदा हुने उल्लेख गरे । विमानस्थल स्तरोन्नति गर्न दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा ३० प्रतिशतसम्म उडान कटौती हुने भन्दै वायुसेवा सञ्चालकहरु भने असन्तुष्टि जनाइरहेका छन् । विमानस्थल सञ्चालन समय घटाउँदा ३० प्रतिशतसम्म उडान कटौती हुन्छ । तर, विमानस्थल बिस्तार र पूर्वाधार निर्माणले जहाज आवतजावत तथा दीर्घकालीन ट्राफिक व्यवस्थापनमा सहज हुन्छ । विमानस्थल बन्द भएपनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।
 

प्रतिक्रिया