काठमाडौं— नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न प्रस्ताव गरे पनि बैंक तथा वित्तीय संस्थाहरूले १९ अर्ब २५ करोडका लागि मात्रै आवेदन दिएका छन्। पुस ९ गते राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १२ दिनका लागि बोलकबोल प्रक्रियामार्फत निक्षेप संकलन गर्न सूचना जारी गरेको थियो।
बैंकहरूले १९ अर्ब २५ करोड रुपैयाँका लागि प्रस्ताव गरे पनि राष्ट्र बैंकले १९ अर्ब २० करोड रुपैयाँ मात्रै संकलन गरेको छ। यो रकम बैंकहरूले न्यूनतम २.८९२५ प्रतिशतदेखि अधिकतम ३ प्रतिशत ब्याजदरमा प्रस्ताव गरेका थिए। राष्ट्र बैंकले भारित औसत ब्याजदर २.९९६१ प्रतिशतमा निक्षेप संकलन गरेको जनाएको छ।
राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्रै बोलकबोल प्रक्रियामा सहभागी हुन अनुमति दिएको थियो। यस प्रक्रियामा ९ वटा बैंक तथा वित्तीय संस्थाहरूले १५ वटा प्रस्ताव गरेका थिए।