काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनामा देशको वैदेशिक व्यापार साढे ५ खर्ब रुपैयाँ नाघेको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्म ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.०४ प्रतिशतले बढी हो। गत वर्षको असोज मसान्तसम्म ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।
तीन महिनामा वस्तु आयात ४ खर्ब ८६ अर्ब रुपैयाँ नाघेको विभागले जनाएको छ। भदौसम्मको तथ्यांक अनुसार ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख बराबरको वस्तु आयात भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.७९ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
यस अवधिमा निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ। तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ, जुन अघिल्लो वर्षको ३८ अर्ब ३७ करोडको तुलनामा ८९.६४ प्रतिशतले बढी हो।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षका तीन महिनामा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। कुल वैदेशिक व्यापार २६ प्रतिशतले बढे पनि व्यापार घाटा १२.१८ प्रतिशत मात्रले वृद्धि भएको छ।
कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.५४ प्रतिशत र निर्यातको हिस्सा १३.४६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको तुलनामा आयातको हिस्सा ४.९६ प्रतिशतले घटेको र निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेको विभागले जनाएको छ।