नेपाल सौर्य ऊर्जा उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल

काठमाडौं । नेपाल सौर्य ऊर्जा उत्पादक संघको अध्यक्षमा भरतकुमार मल्ल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको २५औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट उनले आगामी कार्यकालका लागि नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार हरिनारायण गौतमलाई पराजित गर्दै मल्ल निर्वाचित भएका हुन् ।

निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा दीपक गौतम, प्रथम उपाध्यक्षमा रामेश्वर वाग्ले, द्वितीय उपाध्यक्षमा सुदर्शन बानियाँ चयन भएका छन् । महासचिवमा नेत्रबहादुर खत्री, सचिवमा केशवराज शर्मा र कोषाध्यक्षमा रामप्रसाद कोइराला निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यमा राजेन्द्रबहादुर खड्का, निष्ठा गौतम, विश्व शाह, कृष्णराज चुदाली, योगेन्द्रबहादुर श्रेष्ठ, दिपकराज पौडेल, तिलकलाल श्रेष्ठ, कुमार बस्नेत र सुबोध रिमाल निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष मल्लले सौर्य ऊर्जाको विकासका लागि सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले प्रमुख राजमार्गमा सोलार बत्ती जडान तथा सोलार विद्युत् उत्पादन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । संघको नेतृत्व सामूहिक प्रयासबाट सौर्य ऊर्जा क्षेत्रलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष दीपक गौतमले निर्वाचनपछि सबै व्यवसायीलाई एकताबद्ध गर्दै सौर्य ऊर्जा क्षेत्रको प्रवर्धनमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले निर्वाचनमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै अब सबै व्यवसायी एक भएर समस्या समाधान र व्यवसायिक सुरक्षामा ध्यान दिनुपर्ने बताए । उनका अनुसार संघको पहलमा दुर्गम तथा विद्युत् पहुँच नपुगेका क्षेत्रमा सौर्य ऊर्जामार्फत विद्युतीकरण हुँदै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया