काठमाडौँ — प्रहरी सेवामा स्वच्छ छवि कायम गरेका पूर्व डीआईजी रमेश खरेल नयाँ बनेको अन्तरिम सरकारको गृहमन्त्रीका लागि चर्चामा छन्। जेन्जी आन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का मन्त्री छनोटको प्रक्रिया चलिरहेको बेला खरेलको नाम गृह मन्त्रालयको सम्भावित नेतृत्वका रूपमा उचालिएको हो।
नेपाल प्रहरीको डीआईजीबाट अवकाशप्राप्त खरेलले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिएका थिए। तर उनी झिनो मतान्तरले पराजित भएका थिए। प्रहरी सेवामा रहँदा उनले “सेवा जनताको लागि हो, पदका लागि घुसखोरी अस्वीकार्य छ” भन्ने धारणा कायम गर्दै काम गरेका थिए।
उनको दृढ कमान्डिङ क्षमता र स्वच्छ छविका कारण जेन–जी पक्षधरहरूले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न योग्य पात्रका रूपमा उनको नाम अघि सारेका छन्। शुक्रबार अन्तरिम सरकार प्रमुखको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले शपथ ग्रहण गरेसँगै, बाँकी मन्त्रीहरूको छनोट प्रक्रिया तीव्र भइरहेको छ।