१२९ मुलुकसँग नेपालको व्यापार घाटा


काठमाडौं–मुलुकमा खपत हुने वस्तुको उत्पादन वृद्धि हुन नसक्दा नेपालको व्यापार घाटा सात महिनामा नै १० खर्ब रुपैयाँ माथि पुगेको छ । नेपालले एक सय ५२ वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये एक सय २९ वटा देशसँगको व्यापारमा नेपालले घाटा व्यहोरेको छ । २३ वटा मुलुकसँग मात्र व्यापार नाफामा रहेको छ । 


सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग नेपालले पाँच खर्ब ८९ अर्बको व्यापार घाटा व्यहोरेको छ । त्यस्तै, चीनसँगको व्यापारमा एक खर्ब ६४ अर्ब रुपैयाँ नोक्सान भएको छ । अफगानिस्तान, अल्जेरिया, कम्बोडियालगायतका मुलुकसँगको नेपालको व्यापार भने नाफामा रहेको छ ।


भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालले कुल १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४६.४३ प्रतिशतले बढी हो । यस अवधिमा नेपालको आयात ४२.७८ प्रतिशतले बढेर ११ खर्ब ४७ अर्ब ४६ करोडबराबर पुगेको छ । निर्यात भने ८८.३० प्रतिशतले बढेर एक खर्ब ३१ अर्ब रुपैयाँबराबर पुगेको छ । निर्यातको तुलनामा आयातको आकार ठूलो हुँदा नेपालको व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको छ । सात महिनामा नेपालले १० खर्ब १५ अर्ब व्यापार घाटा व्यहोरेको छ ।

प्रतिक्रिया