पिपुल्स पावरले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौँ - पिपुल्स पावर कम्पनीले ५० प्रतिशत हकप्रदाक सेयर जारी गर्ने भएको छ। कम्पनीले आफ्नो वार्षिक साधारण सभामा सो प्रस्ताव लैजानको लागि सम्पूर्ण तयारी पूरा गरेको छ। 

कम्पनीको छैंठौं र सातौं वार्षिक साधारण सभा वैशाख १७ गते बस्ने भएको हो । सभा, लीसारा ब्यांकेट, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ । 

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभामा २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना महिला सहित ५ जना र १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।सभा गर्न कम्पनीले चैत २९ गते बुक क्लोज गरिसकेको छ । चैत २८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । कम्पनीलाई यसअघि नै ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिइसकेको छ ।

आयोगको पूर्वस्वीकृतिपछि अब हकप्रद सेयर निष्कासन प्रस्ताव सभामा पेश हुनेछ । सभाबाट पारित भएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी गर्न सुरु हुनेछ ।

यस कम्पनीले हाल सञ्चालनमा रहेको ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजनाको नियमित मर्मतसंभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न र नयाँ आयोजनामा लगानी गर्न हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएको छ ।

हाल यसको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा ५० प्रतिशत हकप्रद जारी गर्न लागिएको हो । हकप्रद पश्चात यसको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । 

प्रतिक्रिया