आठ महिनामा सरकारको राजस्व सङ्कलन ७ खर्ब ४७ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म सरकारले ७ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिसम्म ७ खर्ब ४७ अर्ब २८ करोड ५ लाख रुपैयाँ राजस्व उठेको हो।

गत आर्थिक वर्षको सोही अवधिमा ७ खर्ब २० अर्ब २४ करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। त्यसको तुलनामा यस वर्ष ३.७५ प्रतिशतले वृद्धि भएको देखिएको छ। फागुन महिनामा मात्रै ८२ अर्ब २५ करोड ५६ लाख रुपैयाँ राजस्व उठेको मन्त्रालयले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ९ खर्ब १० अर्ब २० करोड ३३ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। तर आठ महिनाको अवधिमा लक्ष्यको ८२.१० प्रतिशत मात्र प्रगति हासिल भएको छ।

भन्सार महसुलतर्फ १ खर्ब ९५ अर्ब ९० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १ खर्ब ४४ अर्ब ५० करोड १४ लाख रुपैयाँ मात्र उठेको छ, जुन लक्ष्यको ७३.७६ प्रतिशत हो। यद्यपि गत वर्षको सोही अवधिको तुलनामा भने ८.१२ प्रतिशत वृद्धि देखिएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलनमा पनि वृद्धि भएको छ। फागुन मसान्तसम्म २ खर्ब २५ अर्ब ५३ करोड ४५ लाख रुपैयाँ सङ्कलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.३५ प्रतिशतले बढी हो।

अन्तःशुल्क सङ्कलनमा पनि सुधार देखिएको छ। गत वर्षको तुलनामा १०.४४ प्रतिशत वृद्धि हुँदै १ खर्ब २० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

तर आयकर र गैर–कर राजस्वमा भने गिरावट देखिएको छ। आयकर सङ्कलन १.४२ प्रतिशतले घटेर १ खर्ब ७० अर्ब ८० करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै गैर–कर राजस्व १३.३१ प्रतिशतले घटेर ७० अर्ब ६९ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया