काठमाडौं: एक महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जा २.०४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ मंसिर मसान्तसम्म ५६ खर्ब ७५ अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म आइपुग्दा यो रकम बढेर ५७ खर्ब ९० अर्ब ७७ करोड पुगेको छ।
यसअघि २०८० असारमा कुल कर्जा प्रवाह ४८ खर्ब ७९ अर्ब रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा यो ५ प्रतिशतले बढेर ५१ खर्ब ६७ अर्ब पुगेको थियो। त्यस्तै २०८२ असारमा ५५ खर्ब ९१ अर्ब रहेको कुल लगानी ६ महिनामै करिब २ खर्बले बढेर ५७ खर्ब ९१ अर्ब पुगेको देखिन्छ।
क्षेत्रगत विवरणअनुसार चालु आर्थिक वर्षको पुससम्म कृषि क्षेत्रमा ३ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ भने मत्स्यपालनमा ५७ अर्ब लगानी भएको छ। खानी क्षेत्रमा ११ अर्ब लगानी हुँदा कृषि, वन, पेय पदार्थ तथा गैर–खाद्य उद्योगमा ९ खर्ब ५६ अर्ब रुपैयाँ लगानी रहेको छ। निर्माण क्षेत्रमा मंसिरसम्म २ खर्ब ४३ अर्ब रहेको लगानी पुससम्म बढेर २ खर्ब ४८ अर्ब पुगेको छ। विद्युत, ग्यास र खानेपानी क्षेत्रमा ४ खर्ब ७२ अर्ब लगानी हुँदा धातुका वस्तु, मेसिनरी तथा विद्युतीय सामग्री उत्पादनमा भने ७५ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ।
थोक तथा खुद्रा व्यापार क्षेत्रमा १० खर्ब ३२ अर्ब लगानी रहेको छ। पर्यटन क्षेत्रमा पछिल्लो समय उल्लेख्य वृद्धि देखिएको छ। २०८० असारमा २ खर्ब ११ अर्ब रहेको पर्यटन क्षेत्रको कर्जा बढेर हाल २ खर्ब ६३ अर्ब पुगेको छ। उपभोग कर्जामा पनि वृद्धि देखिएको छ। एक महिनामै ५० अर्बले बढेको उपभोग कर्जा १२ खर्ब १० अर्बबाट ४.२१ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब पुगेको छ। २०८१ असारदेखि २०८२ असारसम्म भने उपभोग कर्जा १३ प्रतिशतले बढेको थियो।
कर्जाको प्रकृतिअनुसार सबैभन्दा बढी टर्म लोन २१ खर्ब २७ अर्ब रहेको छ। ओभरड्राफ्ट १ खर्ब ८० अर्ब, वर्किङ क्यापिटल लोन ८ खर्ब ४४ अर्ब, व्यक्तिगत घर कर्जा ४ खर्ब ४३ अर्ब रहेको छ। सेयर धितो कर्जा १ खर्ब ५२ अर्ब, हायर पर्चेज कर्जा १ खर्ब ३७ अर्ब तथा विपन्न वर्ग कर्जा १ खर्ब ९१ अर्ब पुगेको छ।
सेयर धितो कर्जातर्फ चालु आर्थिक वर्षको पुस मसान्तसम्म कुल १ खर्ब ५२ अर्ब कर्जा प्रवाह भएको छ। पछिल्ला दिनमा बैंकहरूले सेयर धितो कर्जा विस्तार बढाएका छन्। सबैभन्दा बढी नबिल बैंकले १६ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। दोस्रो स्थानमा ग्लोबल आइएमई बैंकले १३ अर्ब ५३ करोड र कुमारी बैंकले १० अर्ब १७ करोड रुपैयाँ सेयर धितो कर्जा दिएका छन्।