नेप्सेमा सामान्य गिरावट: लघुवित्तमा उतार–चढाव, शिवम् सिमेन्टमा उच्च कारोबार

साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजारमा पुनः दबाब देखिँदै नेप्से परिसूचक २६०० विन्दुभन्दा तल झरेको छ। बुधबार केही सुधार देखिए पनि बजारले सो उचाइ टिकाउन सकेन र आज ११.२९ अंक घटेर नेप्से २५९६.१२ विन्दुमा बन्द भयो। सेन्सेटिभ, फ्लोट तथा सेन्सेटिभ फ्लोट सबै सूचकहरूमा पनि सामान्य गिरावट देखियो।

नेप्से घटेपनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। बुधबार ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहिबार ३२० वटा स्टकको ५० हजारभन्दा बढी कारोबारमार्फत ५ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको १ करोड ८ लाखभन्दा बढी कित्ता शेयर किनबेच भयो।

यस दिन दुई नयाँ कम्पनीका शेयरहरू सकारात्मक सर्किटमा पुगे। मंगलबारदेखि कारोबारमा आएको माबिलुङ एनर्जी र आजदेखि कारोबार सुरु गरेको दरमखोला हाइड्रोका शेयरमा उच्च माग देखियो। त्यस्तै, उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तका शेयर ८ प्रतिशतभन्दा बढी उकालो लागे। तर, सम्पदा लघुवित्तको भाउ १० प्रतिशतले घट्दै दिनको सबैभन्दा धेरै घट्ने कम्पनी बन्यो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो। कम्पनीको ३० करोड ९० लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। राधी विद्युत कम्पनीले ३० करोडभन्दा बढीको कारोबार गरेको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम पनि साढे २७ करोड नाघ्यो।

१३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूह मात्र हरियो रहे। बाँकी ११ उपसमूहमा गिरावट आए पनि कुनै पनि उपसमूहको गिरावटदर १ प्रतिशतभन्दा माथि पुगेन।

प्रतिक्रिया