काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न दरखास्त आह्वान गरिएको छ। सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गर्दै धितोपत्र बजार सञ्चालन नियमावली २०६४ को नियम १६ को (क) अनुसार योग्यता पुगेका उम्मेदवारबाट आवेदन माग गरेको हो।
उम्मेदवारले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा कार्यानुभवसहित १५ वर्षको कार्यानुभव आवश्यक छ।
योग्यता पुगेका उम्मेदवारले दुईप्रति पासपोर्ट साइजको फोटो, चारप्रति व्यावसायिक कार्ययोजना, तथा आवेदन दस्तुर ७ हजार ५०० रुपैयाँ बुझाएको सक्कल भौचर संलग्न गरी आवेदन दिनुपर्नेछ। आवेदन दस्तुर राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
नवनियुक्त सीईओको मासिक पारिश्रमिक, भत्ता तथा अन्य सुविधा नेपाल सरकारको स्वीकृतिमा नेप्सेले तोक्ने छ। अर्थ मन्त्रालयले नियुक्ति प्रक्रियाका लागि सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ, जसमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल रहेका छन्।
माघ २५ गतेदेखि नेप्से सीईओविहीन रहेको अवस्थामा कर्मचारी संघले पूँजी बजारसम्बन्धी गहिरो ज्ञान र व्यावसायिक क्षमता भएका तथा नेप्सेको पुनर्संरचना गराउन सक्ने योग्य व्यक्ति नियुक्त गर्न माग गर्दै आएको छ।