काठमाडौंँ - सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ ४ गते, साेमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ३३ लाख ३२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे ।यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने ४ लाख ९९ हजार ८ सय ७५ कित्ता निष्कासन गर्नेछ ।
सर्वसाधारणहरूलाई निष्कासन हुने ४९ लाख ९८ हजार ७ सय ५० कित्ताको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएकाे हाे । आयोजना प्रभावितका लागि निष्कासन गरिने सेयरमध्ये अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि १३ लाख ३३ हजार कित्ता छुट्याइएको छ ।
आयोजना अति प्रभावित क्षेत्रमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुन गाउँपालिका वडा नं १, मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला वडा नं १ परेका छन् । त्यस्तै, प्रभावति ताप्लेजुङ जिल्लाका अन्य स्थानका बासिन्दाहरुलाई भने १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।
स्थानीय तथा वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।उक्त आईपीओमा स्थानियले छिटोमा माघ १८ गतेसम्म र ढिलोमा फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भने माघ १८ गतेसम्म मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले ताप्लेजुङ जिल्लास्थित सानिमा बैंक, लक्ष्मी बैंक, ग्लाेबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सानिमा मिडिल तमोरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।