नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष Karma Tshering Sherpa लाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो।
सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार हात्तीगौँडास्थित टुङ्गराम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा शेर्पामाथि अनुसन्धान भइरहेको छ।
विद्यालयको कार्यकारी प्रमुखका रूपमा कार्यरत रहँदा विभिन्न प्रपञ्च र प्रभाव प्रयोग गरी व्यक्तिगत लाभ लिएको तथा संस्थालाई आर्थिक हानि पुर्याएको आरोप अनुसन्धानमा रहेको ब्युरोले जनाएको छ।
अनुसन्धानका क्रममा भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी ४ आना जग्गा विद्यालयलाई अनुचित हानि पुग्ने गरी डर, त्रास र अनुचित प्रभाव प्रयोग गरेर आफ्नै स्वामित्वको कम्पनीमा बिक्री गरिएको तथ्य फेला परेको सिआइबीले जनाएको छ।