रसुवा बाढीले ४३१ मेगावाट विद्युत् उत्पादन बन्द, १९६ कर्मचारी सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिएको छ। बाढीले जलविद्युत् गृह, प्रसारण लाइन तथा सबस्टेसनमा ठूलो क्षति पुर्‍याएपछि ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठका अनुसार विद्युत् उत्पादन, प्रसारण र वितरणका संरचनामा ठूलो क्षति पुगे पनि हालसम्म राष्ट्रिय विद्युत् प्रणालीलाई सन्तुलित राख्न नेपाल विद्युत् प्राधिकरण सफल भएको छ। यद्यपि क्षतिको दायरा ठूलो रहेकाले आगामी दिनमा विद्युत् माग र आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने प्राधिकरणले जनाएको छ।

बाढीका कारण १२ वटा सञ्चालनमा रहेका विद्युत् उत्पादन केन्द्र पूर्ण रूपमा बन्द भएका छन्। रसुवागढी १११ मेगावाट, माथिल्लो त्रिशूली–३ ‘ए’ ६० मेगावाट, सालासुङ्गी ७८ मेगावाट, साञ्जेन ४२.५ मेगावाट, त्रिशूली २४ मेगावाट, चिलिमे २२ मेगावाट, लाङटाङ २० मेगावाट, माथिल्लो साञ्जेन १४.८ मेगावाट, माथिल्लो मैलुङ १४.८ मेगावाट, देवीघाट १४ मेगावाट, मैलुङ ५ मेगावाट र प्राधिकरणको २५ मेगावाटको सौर्य आयोजना प्रभावित भएका छन्।

यस्तै, सोही नदी बेसिनमा निर्माणाधीन ४७० मेगावाट क्षमताका १५ वटा जलविद्युत् आयोजनामा समेत बाढीले भौतिक क्षति पुर्‍याएको छ। विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदारसमेत ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्।

प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् केन्द्रका ९२ जना र माथिल्लो त्रिशूली–३ ‘ए’ को मर्मतमा खटिएका ४५ जना कामदार सम्पर्कविहीन छन्। निर्माणाधीन त्रिशूली–३ ‘बी’ साइटका ३२ जना, त्रिशूली २२० केभी हब सबस्टेसनका १६ जना, चिलिमे जलविद्युत् केन्द्रका ७ जना तथा त्रिशूली, देवीघाट र रसुवा वितरण केन्द्रका ४ जनासहित कुल १९६ जनाको अवस्था अझै अज्ञात रहेको छ।

प्रसारणतर्फ त्रिशूलीस्थित २२० केभी त्रिशूली–३ ‘बी’ हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। धादिङको झरेस्थित ३३ केभी सबस्टेसनमा करिब पाँच फिट लेदो जमेको प्राधिकरणले जनाएको छ। चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली–३ ‘बी’–मातातीर्थ २२० केभी, त्रिशूली–बालाजु ६६ केभी र समुद्रटार–त्रिशूली १३२ केभी प्रसारण लाइनसमेत अवरुद्ध भएका छन्।

प्रसारण संरचनामा क्षति पुगेपछि रसुवामा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोरखाका केही क्षेत्रमा आंशिक प्रभाव परेको छ। विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राधिकरणले प्रभावित क्षेत्रमा प्राविधिक टोली र आवश्यक सवारीसाधन परिचालन गरेको छ।

धादिङबेँसी सबस्टेसनबाट गजुरी–गल्छी तथा सिन्धुपाल्चोक हुँदै समुद्रटार र चौघडा सबस्टेसनबाट केही क्षेत्रमा आंशिक विद्युत् आपूर्ति सुरु गरिएको प्राधिकरणले जनाएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा वैकल्पिक व्यवस्थाका लागि कार्यकारी निर्देशकसहितको टोली प्रभावित क्षेत्रमा खटिएको छ।

मन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी तथा कामदारको खोजी, मानवीय सुरक्षासँगै विद्युत् सेवा यथाशीघ्र पुनःस्थापना गर्न सरकार र प्राधिकरणले उच्च प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय