लगातार तेस्रो दिन घट्यो नेप्से, बजार २७३० बिन्दुमा

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन पनि गिरावट आएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.०७ अंकले घट्दै २७३०.१७ बिन्दुमा झरेको हो ।

यसअघि मंगलबार नेप्से ३९.४४ अंक र बुधबार ४.१५ अंकले घटेर बन्द भएको थियो । लगातारको गिरावटसँगै बजारमा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ ।

बजार घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । यस दिन ३३६ कम्पनीका ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब २८ करोड ७३ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार ३३९ कम्पनीका ५६ लाख ४१ हजार ३६७ कित्ता सेयर २ अर्ब ८० करोड ६१ लाख २९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आजको कारोबारमा व्यापार, निर्जीवन बीमा र म्युचुअल फण्ड समूह बाहेक सबै उपसूचक घटेका छन् । अन्य समूहको उपसूचक सर्वाधिक २ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार भएका कम्पनीमध्ये ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको मूल्य घटेको छ । यस्तै १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया