बारा, २२ चैत । बाराको यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता र गैरकानुनी असुली चलिरहेको खुलेको छ। गौरस्थित कार्यालयमा रहँदा अनियमितता मच्चाएका अरबिन्द दास अहिले बाराको कार्यालयमा पुनः सक्रिय भएको पाइएको छ। स्थानीय नागरिक र समाचार स्रोतका अनुसार, दासले यातायात कार्यालयमा सेटिङ मिलाएर अवैध रूपमा रकम असुली र लाइसेन्स वितरणको कामलाई निरन्तरता दिइरहेका छन्।
गौरमा कार्यरत रहँदा उनले आफ्ना नातेदारहरूलाई बिचौलियाको रूपमा प्रयोग गरी सर्वसाधारणबाट अवैध रूपमा रकम उठाउने कार्य गरेका थिए। चितवन, नारायणघाट, मकवानपुर लगायतका स्थानका सेवाग्राहीहरूसँग प्रति व्यक्ति १० हजार रुपैयाँ असुली गरी लाइसेन्स वितरण गरेको तथ्य बाहिरिएपछि उनलाई प्रदेश यातायात मन्त्रालयले मन्त्रालयमै तानेको थियो। तर केही समय नबित्दै, दासले मन्त्रालयका केही उच्च अधिकारीलाई घूस बुझाएर पुनः बाराको कार्यालयमा सरुवा गराएको आरोप छ।
हाल पनि उनी ट्रायल वा लिखित परीक्षा पास नगरेका व्यक्तिहरूसँग मोटो रकम लिएर गैरकानुनी रूपमा लाइसेन्स वितरण गरिरहेका छन्। यसका लागि उनले पुनः आफ्ना नातेदारलाई कार्यालयमा राखी सेटिङ मिलाएर अनियमितता जारी राखेको स्थानीयको भनाइ छ। यसले गर्दा इमानदार र योग्य नागरिकहरू वञ्चित भइरहेका छन् भने कानुनी प्रक्रिया मिचेर लाइसेन्स पाउने प्रवृत्तिले प्रश्रय पाइरहेको छ।
स्थानीयवासीहरूले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको ध्यान यसतर्फाकर्षण गराउँदै तुरुन्त छानबिन र कारबाहीको माग गरेका छन्। केही समयअघि तस्करीको सूचना पाएपछि फिल्डमै पुगेर नियन्त्रणमा लिन सफल भएका प्रमुख अधिकारीबाट अहिले पनि सक्रिय हस्तक्षेपको अपेक्षा गरिएको छ। यदि सम्बन्धित निकायहरूले तत्काल कारबाही नगरे अनियमितता झनै बढ्ने खतरा देखिन्छ।
बाराको यातायात कार्यालयमा भइरहेको यो अव्यवस्था दिगो रूपमा लुकाउन सकिने अवस्था छैन। कानुनी शासनको प्रत्याभूति गर्न र भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्न तत्काल प्रभावकारी छानबिन र कारबाही आवश्यक भएको स्थानीयको धारणा छ।