चार वर्षपछि फिफाले हटायो कन्ट्रोल फन्डिङ

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि चार वर्षअघि लगाएको आर्थिक नियन्त्रण (कन्ट्रोल फन्डिङ) को बन्देज हटाएको छ। आर्थिक पारदर्शिता र सुशासनमा विश्वास गर्दै फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (GACC) को बैठकले हालै उक्त निर्णय गरेको हो।

फिफाले सन् २०२१ मार्च १५ मा एन्फामाथि आर्थिक अपारदर्शिता र सम्भावित भ्रष्टाचारको आशंका गर्दै कन्ट्रोल फन्डिङ लागू गरेको थियो। त्यसयता फिफाको सहयोगमा प्राप्त रकम फिफाले नै नियमन गर्दै खर्च गर्न दिँदै आएको थियो। तर, हालको नेतृत्वमा एन्फाको आर्थिक प्रणालीमा देखिएको सुधार, पारदर्शिता र उत्तरदायित्वका आधारमा फिफाले पुनः आर्थिक स्वतन्त्रता दिने निर्णय गरेको हो।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा सञ्चालित कार्यसमितिको प्रतिबद्धता र पारदर्शी कामको मूल्यांकन गर्दै फिफाले औपचारिक पत्रमार्फत प्रतिबन्ध हटाइएको जानकारी गराएको छ। अब एन्फाले फिफाबाट प्राप्त आर्थिक सहयोगलाई स्वतन्त्र रूपमा उपयोग गर्न पाउनेछ।

यसअघि पनि एन्फालाई सन् २०२४ को अक्टोबरमा एएफसी मेम्बर एसोसिएसन अफ द इयर (गोल्ड) अवार्ड प्रदान गरिएको थियो। एन्फाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा संस्थागत सुधार, पारदर्शिता र सुशासनका लागि गरिएको यात्राले अब सकारात्मक मोड लिएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा फिफासँगको सहकार्यले लेखा प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डमा रुपान्तरण गर्न सहयोग पुगेको बताइएको छ। साथै, एन्फाले कार्यसम्पादनको आलोचना गर्नेहरूलाई कामबाट जवाफ दिएको दाबी गरेको छ। “विभिन्न पूर्वाग्रही र स्वार्थ समूहहरूको बाधा हुँदाहुँदै सत्यताले विजय पाएको छ,” विज्ञप्तिमा भनिएको छ।

महिला फुटबल टोलीको उज्वेकिस्तान भ्रमण र यू–२० टोलीको बंगलादेशमा जारी साफ प्रतियोगितामा देखिएको प्रदर्शनबाट महिला विश्वकप २०३१ मा नेपालको सम्भावना बलियो बनेको एन्फाले जनाएको छ। पुरुष टोलीले पनि सिंगापुर र अफगानिस्तानमाथि ऐतिहासिक जित हात पार्दै भविष्यप्रति आशा दिलाएको बताइएको छ।

फिफाको आर्थिक प्रतिबन्ध हटेपछि एन्फाले ग्रासरुट फुटबलदेखि ए डिभिजन लिगसम्मका सबै प्रतियोगिता समयमै सञ्चालन गर्ने योजना अघि सारेको छ। काठमाडौंमा निर्माण गर्न लागिएको रंगशालाका लागि प्रधानमन्त्रीबाट प्राप्त सहयोग प्रतिबद्धता प्रति एन्फाले आभार व्यक्त गरेको छ।

निकट भविष्यमा आफ्नै रंगशाला निर्माण अघि बढाउने तयारीसँगै एन्फाले आर्थिक पारदर्शिता र सुशासनलाई अझ सुदृढ बनाउँदै फिफा तथा एएफसीको विश्वास जित्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय