लोडसेडिङको हल्ला भ्रममात्र हो - विद्युत प्राधिकरण

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले चनौली क्षेत्रमा देखिएको विद्युत् आपूर्तिको समस्या लोडसेडिङ नभएको स्पष्ट पारेको छ। आइतबार सार्वजनिक विज्ञप्तिमा प्राधिकरणले ट्रान्सफर्मर तथा लाइनमा देखिएको प्राविधिक समस्या कारण अस्थायी अवरोध भएको र सामाजिक सञ्जालमा फैलाइएको ‘लोडसेडिङ तालिका’ भ्रामक मात्र भएको उल्लेख गरिएको छ।

प्राधिकरणका अनुसार चनौली वितरण केन्द्र अन्तर्गत चनौली ३३/११ के.भी. सबस्टेसन र भरतपुरबाट आउने ३३ के.भी. लाइनमा अत्यधिक लोड परेकाले आपूर्ति अवरुद्ध भएको हो। दीर्घकालीन समाधानका लागि बसेनी १३२ के.भी. सबस्टेसनबाट चनौलीसम्म नयाँ ३३ के.भी. लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

वर्षायाममा अपेक्षा अनुसार वर्षा नहुनु र सिँचाइको माग बढ्नाले ट्रान्सफर्मर तथा लाइनमा थप भार परेको प्राधिकरणको भनाइ छ। यस्ता प्राविधिक समस्याहरू समाधान गर्न प्राविधिक टोली अहोरात्र खटिएको समेत प्राधिकरणले जनाएको छ।

प्राधिकरणले लोडसेडिङ विगतको कुरा भइसकेको र अब पुन: लोडसेडिङ हुने आशंका निराधार भएको स्पष्ट गर्दै भनेको छ, “गलत आशयले फैलाइएको भ्रमले उपभोक्तालाई अन्योलमा पारिरहेको छ, तर वास्तविकता फरक छ।”

प्राधिकरणले चनौली क्षेत्रमा देखिएको समस्या दुईदेखि तीन दिनभित्र समाधान हुने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय