स्टार माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता आईपीओ ल्याउने

काठमाडौं — स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (सर्वसाधारणको सेयर) निष्कासन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ। यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने योजना बनाएको छ। आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा हुनेछ।

स्टार माइक्रो इन्स्योरेन्सले २०८० भदौ १ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको छ। यस कम्पनीको मुख्य उद्देश्य न्यून आय भएका, पिछडिएका क्षेत्रका वासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघु बीमा सेवा पुर्‍याउनु हो।

हाल कम्पनीको चुक्तापूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीको स्पेशल रिजर्भमा ३० लाख ५९ हजार रुपैयाँभन्दा बढी र महाविपत्ति कोषमा २६ लाख ९२ हजार रुपैयाँ रहेको जानकारी दिइएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले १७ लाख ८८ हजार रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ।

प्रतिक्रिया