काठमाडौंं - खप्तड लघुवित्त वित्तीय संस्थाको आइपिओ बाँडफाँट भएको छ । कम्पनीको आइपिओ सोमबार बिहान बाँडफाँट हुने भएको हो ।
कम्पनीको आइपिओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बिहान १० बजे बाँडफाँट भएको हो ।
कम्पनीको आइपिओमा अन्तिम दिनसम्म १८ लाख ७७ हजार ६७५ जनाको आवेदन परेको थियो । कम्पनीको आईपीओमा माग भन्दा धेरै आवेदन परेकाले गोलाप्रथाद्वारा वितरण गरिएको हो ।
गोलाप्रथाद्वारा १० कित्ताका दरले बाँडफाँट गर्दा १८ लाख ७७ हजार ६७६ जना आवेदकमध्ये १२ हजार ३४० जनाले सेयर पाएका छन् । भने बाँकी १८ लाख ६५ हजार ३३५ जनाको हात खाली भएको छ ।
कम्पनीको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता शेयरका लागि सर्वसाधारणलाई खुला गरेको थियो ।