पाल्पा सिमेन्टको ४५ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेड ले आज फागुन १२ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर बाँडफाँट सम्पन्न गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि बाँकी सेयर खुला गरेको हो।

कम्पनीले जारी पूँजी तीन अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँका ७५ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १८ लाख ७५ हजार कित्ता उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि र पाँच लाख ६२ हजार पाँच सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो। त्यसैगरी दुई लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र सोही संख्याका सेयर कर्मचारीका लागि बाँडफाँट गरिएको छ।

अब बाँकी रहेको ४५ करोड रुपैयाँ बराबरका ४५ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५ प्रतिशत छ। साधारण लगानी फिर्ता हुने अवधि ६ वर्ष ८ महिना र डिस्काउन्ट आधारमा ९ वर्ष १२ महिना रहेको उल्लेख गरिएको छ।

कम्पनीले २०७६ बैशाखदेखि क्लिंकर र २०७७ बैशाखदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। दैनिक एक हजार ८०० मेट्रिक टन क्लिंकर र दुई हजार २०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको कम्पनीको उद्योग क्षेत्रफल १० बिघा १३ कठ्ठा १२ धुर तथा खानी क्षेत्रफल १७२ रोपनी ११ आना ३ पैसा १ दाम रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड द्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया