काठमाडौं दरबारमार्ग क्षेत्रमा प्रदर्शनमा रोक, असार २४ सम्म निषेधाज्ञा

राजावादी आन्दोलनलाई लक्षित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार संग्रहालय आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र सालिक हुँदै संग्रहालयको दक्षिण गेटसम्मको क्षेत्रमा असार २४ गतेसम्म कुनै पनि प्रकारका विरोध कार्यक्रम, अनशन, धर्ना, घेराउ, जुलुस र सभा गर्न पाइने छैन।

यसअघि २०८१ फागुन २६ गते पनि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किनुअघि काठमाडौंका विभिन्न स्थानहरूमा निषेधाज्ञा थप गरिएको थियो। त्यतिबेला प्रमुख जिल्ला अधिकारी तिवारीले राजधानीका विभिन्न संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेका थिए। सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार त्यतिबेला हरेक दुई महिनामा निषेधाज्ञा थप्ने परम्परालाई निरन्तरता दिइएको थियो, तर अहिले दरबारमार्ग क्षेत्रमा गरिएको निषेधाज्ञा नयाँ हो।

सिंहदरबार, राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार तथा संसद् भवन वरपरका क्षेत्रमा पहिले नै निषेधाज्ञा लागू थियो। प्रशासनका अनुसार कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका र अति विशिष्ट व्यक्तिहरूको निवास क्षेत्र नजिक विरोध प्रदर्शन हुँदा अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्ति तथा समग्र शान्ति सुरक्षामा असर पर्ने भएकाले यस्तो निर्णय गरिएको हो।

प्रतिक्रिया