शेयर बजारमा सुधार, १२ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार वृद्धि भएर बन्द भएको छ। अघिल्लो दिन घटेको बजार यस दिन भने सुधारतर्फ फर्किएको हो।

यस दिन नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१४ अंकले वृद्धि हुँदा फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंकले बढेका छन्।

कारोबार रकम पनि बढेको छ। सोमबार करिब ११ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३४० कम्पनीका १ लाख ६ हजार १४० पटकका कारोबारमार्फत १२ अर्ब ३ करोड ४४ लाख रुपैयाँ बराबरका ३ करोड ४८ लाख ५२ हजार कित्ता शेयर किनबेच भएका छन्।

यस दिन ४ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनका लगानीकर्ताले उच्च कमाइ गरेका छन्। साथै, शिवश्री हाइड्रोपावरको शेयर मूल्य ८ प्रतिशतले बढेको छ भने घट्ने कम्पनीहरूको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा रिडी पावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसैगरी, आँखु खोला जलविद्युत कम्पनीको करिब ५१ करोड रुपैयाँ र नेशनल हाइड्रोपावरको ४८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूहको घटेको छ। जलविद्युत उपसमूह सबैभन्दा बढी १.५९ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने घट्ने उपसमूहहरूको गिरावट पनि सामान्य रहेको छ।

प्रतिक्रिया