अमेरिका–इसराइलसँग युद्धविराम नचाहने इरानको घोषणा

काठमाडौं । इरानले अमेरिका र इसराइलसँग युद्धविरामको पक्षमा नभई युद्धको स्थायी अन्त्य चाहेको स्पष्ट पारेको छ।

इरानका विदेशमन्त्री अब्बास अरागची ले जापानी सञ्चार संस्था क्योडो न्युज सँगको कुराकानीमा इरानको धारणा प्रस्ट पार्दै युद्धविरामभन्दा दीर्घकालीन समाधान आवश्यक रहेको बताएका हुन्।

उनले भने, “इरान युद्धविराम चाहँदैन, बरु युद्धको पूर्ण, व्यापक र स्थायी अन्त्य चाहन्छ।” उनका अनुसार युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न सक्ने कुनै पनि पहललाई इरानले स्वागत गर्नेछ, तर हालको संघर्ष इरानमाथि थोपारिएको दाबी पनि उनले गरे।

अरागचीले युद्ध रोक्ने प्रस्तावहरू सुन्न र तिनमाथि विचार गर्न आफूहरू तयार रहेको बताएका छन्। उनले केही मुलुकहरू मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि प्रयासरत रहेको उल्लेख गर्दै अमेरिका भने आफ्नो आक्रामक नीति रोक्न इच्छुक नदेखिएको टिप्पणी गरे।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्ध चाँडै अन्त्य गर्ने संकेत दिएका थिए। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मा लेख्दै “हामी लक्ष्य हासिलको निकै नजिक छौं” भनेका थिए।

प्रतिक्रिया