मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, वरिष्ठता परम्परा तोडियो

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन्। बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले शर्माको नाम प्रधानन्यायाधीशका लागि अघि सारेको हो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनी नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन्।

नेपालको न्यायिक इतिहासमा वरिष्ठताको परम्परा तोड्दै चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको यो पहिलो घटना हो। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई पछि पार्दै शर्मालाई सिफारिस गरिएको हो।

६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका शर्मा अनुमोदित भएमा पूर्ण ६ वर्षे कार्यकाल प्रधानन्यायाधीश रहनेछन्। ४ असार २०२७ मा पर्सामा जन्मिएका शर्मा ३ असार २०९२ मा ६५ वर्ष पुग्ने भएकाले उनी वैशाख २०८९ सम्म नेतृत्वमा रहने सम्भावना छ।

नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तथा भारतको पुने विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका शर्माले श्रम कानूनसम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्। उनी पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशका रूपमा पनि कार्यरत थिए। पछि चोलेन्द्रशम्शेर जबरा प्रधानन्यायाधीश रहेका बेला उनी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।

प्रतिक्रिया