शीतल निवासमा आज नयाँ प्रधानमन्त्रीको शपथ समारोह

Symbolic photo

 

काठमाडौं। मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा मध्याह्न १२ः३४ बजे बालेन्द्र शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ। शपथअघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिइनेछ।

शपथ ग्रहण समारोह धार्मिक तथा सांस्कृतिक विधिअनुसार भव्य रूपमा आयोजना गरिँदैछ। सात जना ब्राह्मणद्वारा शंखनाद, १०८ बटुकद्वारा स्वस्तिवाचन र १६ भिक्षुद्वारा अष्टमंगल पाठ गरिनेछ।

नेपालको संविधानको धारा ७६(१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो। सो अवसरमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई निमन्त्रणा गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारी छ।

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। उक्त दलले बिहीबार बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गरेको हो।

निर्वाचनमा बालेन्द्र शाह झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मतसहित विजयी भएका थिए। यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

प्रतिक्रिया