काठमाडाैं - नेपाल र बंगलादेशबीच विद्युत् किनबेचसम्बन्धी ऐतिहासिक सम्झौता भएको छ, जससँगै नेपालले भारतपछि पहिलोपटक तेस्रो देशमा विद्युत् निर्यात गर्न लागेको हो। काठमाडौँमा भएको उच्चस्तरीय बैठकमा नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड, र भारतीय नोडज एजेन्सी एनटिपीसी विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
यो सम्झौताअनुसार नेपालले पाँच वर्षसम्म वर्षायाममा ६ महिना हरेक वर्ष ४० मेगावाट विद्युत् बंगलादेशलाई ढल्केबर-मुजफ्फरपुर ट्रान्समिसन लाइनमार्फत निर्यात गर्नेछ। सम्झौताले नेपाललाई वार्षिक करिब ९.२ मिलियन डलर आम्दानी हुने अपेक्षा गरिएको छ।
विद्युत् निर्यातको यो प्रारम्भिक चरणले भविष्यमा १० वर्षभित्र बंगलादेशमा ५ हजार मेगावाट विद्युत् निर्यात गर्ने नेपालको लक्ष्यलाई अघि बढाउनेछ। साथै, सुनकोशी तेस्रो जलविद्युत् आयोजना नेपाल, बंगलादेश, र भारतबीच सहकार्यका आधारमा विकास गर्ने पनि छलफल भइरहेको छ।