काठमाडौं । नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको संख्या बढेसँगै देशबाट बाहिरिने पूँजीको परिमाण पनि तीव्र रूपमा बढ्दै गएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनाको तथ्याङ्कले शिक्षा क्षेत्रमा आम्दानी र खर्चबीचको अन्तर निकै फराकिलो देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि ९७ अर्ब १० लाख रुपैयाँ खर्च गरेका छन् । तर, सोही अवधिमा विदेशी विद्यार्थीबाट नेपालले आर्जन गरेको रकम भने जम्मा ४ अर्ब १० करोड १७ लाख रुपैयाँ मात्र रहेको छ ।
यसरी हेर्दा शिक्षा सेवातर्फ मात्र ९२ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ बराबरको खुद घाटा भएको देखिन्छ । यस्तो अवस्था विदेशी मुद्रा सञ्चितिमा दबाब सिर्जना गर्ने प्रमुख कारणका रूपमा देखिएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा विदेश अध्ययनका लागि ८८ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको थियो भने ३ अर्ब ५ करोड ९८ लाख रुपैयाँ मात्र भित्रिएको थियो । उक्त वर्षको तुलनामा चालू वर्षमा घाटा झन्डै ७ अर्ब रुपैयाँले बढेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पनि शिक्षा सेवातर्फको अवस्था कमजोर नै थियो । सो अवधिमा ८० अर्ब १४ करोड रुपैयाँ बाहिरिँदा ३ अर्ब ८४ करोड रुपैयाँ मात्र भित्रिएको थियो, जसले ७६ अर्बभन्दा बढी घाटा देखाएको थियो ।
तीन वर्षको तथ्याङ्कले भित्रिने रकम स्थिर रहँदा बाहिरिने रकम निरन्तर बढिरहेको देखाउँछ । यसले देशको उच्च शिक्षा प्रणाली र स्वदेशमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने क्षमतामाथि प्रश्न उठाएको छ ।
विश्लेषकहरूका अनुसार बढ्दो ‘ब्रेन ड्रेन’सँगै ‘वेल्थ ड्रेन’ पनि गम्भीर समस्याका रूपमा देखिन थालेको छ । स्वदेशी विश्वविद्यालयहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन नसकिए आगामी दिनमा यस्तो आर्थिक भार अझै बढ्ने संकेत गरिएको छ ।