काठमाडौं । गगन थापा ले शेरबहादुर देउवा समूहका नेताहरूलाई पार्टीको नियमित महाधिवेशनको पक्षमा आउन आग्रह गरेका छन्।
पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सभापतिको रूपमा आफूले प्रक्रिया अगाडि बढाइसकेको र अब त्यो नरोकिने स्पष्ट पारे।
उनले भने, ‘हामी सबैको अर्जुन दृष्टि अब महाधिवेशनमा केन्द्रित हुनुपर्छ। म यो कमिटीमा नभएका बाहिरका साथीहरूलाई पनि अपिल गर्छु—विशिष्ट परिस्थितिमा विशेष महाधिवेशन भयो, नयाँ नेतृत्व आयो, हामी निर्वाचनमा सहभागी भयौँ र अब नियमित महाधिवेशनतर्फ अघि बढिरहेका छौँ। अब विशेष महाधिवेशन अगाडि वा पछाडि, कसले भाग लियो वा लिएन भन्ने विषय सकिएको छ। सभापतिको रूपमा मैले अगाडि बढाएको यो प्रक्रिया अब रोकिने छैन।’
उनले विशेष महाधिवेशनमा सहभागी भए/नभएको आधारमा कुनै पूर्वाग्रह नराखिने पनि बताए। असन्तुष्ट नेताहरूसँग संवाद जारी रहेको उल्लेख गर्दै सबैलाई समेटेर महाधिवेशनमा लैजान चाहेको उनको भनाइ छ।
उनले थपे, ‘हामी संवादलाई निरन्तरता दिन्छौँ। कुनै पूर्वाग्रह नराखी सबैलाई महाधिवेशनमा सहभागी गराउन चाहन्छौँ। विशेष महाधिवेशनबारे कतिपय नेताहरू असन्तुष्ट हुन सक्छन्, तर हामीले छोटो समयमा १६५ उम्मेदवार चयन गर्दा पनि निष्पक्ष ढंगले निर्णय गरेका थियौँ।’