• गृहपृष्ठ /
  • समाचार ,
  • विशेष/भिडिओ ,
  • मुख्य खबर ,
  • पत्रपत्रिका

भिजिट भिषाले पारि गृहमन्त्री लेखकलाई भारी

गृहमन्त्री रमेश लेखकको सचिवालयका एक कर्मचारीको नाम भिजिट भिसा दुरुपयोग प्रकरणमा जोडिएपछि उनीमाथि पार्टीभित्र र बाहिरबाट राजीनामाको दबाब बढिरहेको छ। तर, नेपाली कांग्रेसका प्रवक्ताले सोमवार बिहान बसेको पदाधिकारी बैठकमा राजीनामाको विषयमा कुनै चर्चा नभएको स्पष्ट पारेका छन्।

 

यस विषयमा नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले लेखकको राजीनामा औपचारिक रूपमा माग गरिसकेका छन्। तर कांग्रेस पार्टीले भने गृहमन्त्री लेखकको प्रतिरक्षा गर्दै उनलाई सदन तथा बाह्य माध्यमबाट प्रस्ट पार्न सुझाव दिएको जनाएको छ। प्रवक्ता प्रकाशशरण महतले पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखक छानबिनको दायरामा नरहेको दाबी गरे।

महतका अनुसार, "गृहमन्त्रीमाथि कुनै उजुरी छैन। छानबिन गर्ने सम्बन्धित निकायले उहाँमाथि कुनै संलग्नता देखाएको छैन, त्यसैले कुनै आधार छैन।"

त्रिभुवन विमानस्थलमा अध्यागमन अधिकारीहरूको संलग्नतामा भिजिट भिसा दुरुपयोग भएको भन्ने आरोप उठेपछि लेखकले आफू यस प्रकरणमा संलग्न नरहेको स्पष्ट पारिसकेका छन्। कांग्रेस पार्टीले लेखकको विस्तृत व्याख्यामा पूर्ण विश्वास गरेको बताइएको छ।

प्रवक्ता महतले भने, "जो संलग्न छन्, उनीहरूलाई कारबाही हुनुपर्छ र निष्पक्ष छानबिन आवश्यक छ। तर गृहमन्त्रीज्यू संलग्न नरहेकोमा हामी विश्वस्त छौं।"

यसअघि कांग्रेस नेता शेखर कोइरालाले नैतिक आधारमा लेखकले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका थिए। सो धारणा बारे महतले केही नेताहरूले विषयको गहिराइ नबुझी प्रतिक्रिया दिएको बताएका छन्।

हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईसहित पाँच जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूका मोबाइल र अन्य विद्युतीय उपकरणहरू बरामद गरिई अनुसन्धानका लागि प्रयोगमा ल्याइएको छ।

प्रतिक्रिया