काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफू प्रधानमन्त्री बन्ने इच्छा नभए पनि देशको अप्ठ्यारो अवस्था र नयाँ पुस्ता ‘जेन–जेड’ युवाको आग्रहका कारण प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताएकी छिन्। उनले विदेशी हस्तक्षेपको कुरा भने जनतालाई तर्साउन प्रयोग गरिएको हतियार मात्रै भएको टिप्पणी गरिन्।
राजनीतिक दल, सरकार र जेन–जेड युवाबीच भएको त्रिपक्षीय बैठकको समापन सत्रमा प्रधानमन्त्री कार्कीले भनिन्, “म यहाँ रहरले आएकी होइन। देशले कठिन परिस्थितिमा जिम्मेवारी खोज्दा मैले स्वीकार गरेकी हुँ।” उनका अनुसार जेन–जेड युवाहरू घरमै आएर अभिभावकत्व लिन आग्रह गरेपछि आफू भावनात्मक रूपमा प्रधानमन्त्री बन्न राजी भएकी थिइन्।
प्रधानमन्त्री कार्कीले जनआन्दोलनका क्रममा गोली लागेका युवाको बलिदान सम्झिँदै आफू परिवर्तनका आवाज सम्बोधन गर्न प्रतिबद्ध रहेको बताइन्। उनले सहिद परिवार र घाइतेहरूलाई बेवास्ता नगर्ने र प्रतिवद्धता पूरा गर्ने आश्वासन दिइन्।
उनले भनिन्, “हामी चुनावमा केन्द्रित छौँ। प्रत्येक दिन छलफल र गृहकार्य गर्दै विश्वासको वातावरण बनाउन लागिपरेका छौँ। भ्रष्टाचार, शोषण र विभेदले गिराएको मनोबल उठाउन कठिन भए पनि हामी त्यस दिशामा अघि बढिरहेका छौँ।”
प्रधानमन्त्री कार्कीले विदेशी हस्तक्षेपबारे उठेका प्रश्नलाई अस्वीकार गर्दै भनिन्, “मलाई कुनै विदेशीले यसो गर, नगर भनेको छैन। यो तर्साउने हतियार मात्र हो। हामीसँग भएका भेटहरू पनि शिष्टाचारका मात्रै हुन्।”
त्यस्तै, न्यायाधीशले राजनीतिमा प्रवेश गर्न नपाउने भन्ने धारणा गलत रहेको बताउँदै उनले संविधानमा यस्तो निषेध नभएको स्पष्ट पारिन्। “भारतमा पनि न्यायाधीशहरू सांसद, मन्त्री भएका छन्। यहाँ किन असामान्य ठानिन्छ?” उनले प्रश्न गरिन्।
भ्रष्टाचारविरुद्ध कडा प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री कार्कीले भनिन्, “यदि मेरो आफ्नै बुबा पनि भ्रष्टाचारमा संलग्न भेटिए, उनलाई पनि कारवाही गर्न तयार छु।” उनले इमानदार व्यक्तिहरूको सहयोगमा सरकार अघि बढिरहेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन्, “हामी डराउँदैनौँ। देश र जनताको लागि बोलेको कुरा पूरा गर्छौँ।”