काठमाडौं । नेपालको अग्रणी रेमिट्यान्स कम्पनी आईएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपूतलाई आफ्नो सांगीतिक एम्बेसडर नियुक्त गरेको छ। कम्पनीले एक विशेष कार्यक्रमबीच सपूतलाई सांगीतिक एम्बेसडरका रूपमा सार्वजनिक गरेको हो।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सपूतलाई सांगीतिक अभियानमा आबद्ध गरिएको आईएमईले जनाएको छ। आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतमार्फत नेपाली समाजमा लोकप्रिय बनेका सपूतका गीतहरू गाउँदेखि सहरसम्म र स्वदेशदेखि विदेशमा रहेका नेपालीमाझ रुचाइने गरेका छन्।
वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा पुगेका नेपालीहरूको भावना, संघर्ष र जीवनका कथालाई गीत–संगीतमार्फत अभिव्यक्त गर्दै आएका सपूतको सहभागिताले आईएमईको सेवाप्रति आम नागरिकको पहुँच र विश्वास अझ बढ्ने कम्पनीको अपेक्षा छ।
सम्झौता कार्यक्रममा बोल्दै आईएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवालले सपूतको लोकप्रियता र सामाजिक सन्देश प्रवाह गर्ने क्षमताले कम्पनीको अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले संगीतले स्वदेश र विदेशमा रहेका नेपालीलाई जोड्ने सशक्त माध्यमको भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।
नियुक्तिपछि प्रतिक्रिया दिँदै गायक प्रकाश सपूतले आईएमईजस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। उनले विश्वभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई संगीतमार्फत आफ्नो मातृभूमिसँग जोडिरहने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा आईएमईका अभियानमा सक्रिय सहभागिता जनाउने बताए।
आईएमईले यस सहकार्यमार्फत रेमिट्यान्स सेवालाई सांस्कृतिक र भावनात्मक रूपमा आम नेपालीसँग थप नजिक बनाउने विश्वास लिएको छ।