सेबोनमा २५ अर्बभन्दा बढीका हकप्रद शेयर स्वीकृतिको पर्खाइमा

काठमाडौँ । दोस्रो बजारमा कारोबार सुस्त रहे पनि हकप्रद शेयर निष्काशनका लागि कम्पनीहरूको आकर्षण भने घटेको छैन। नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष पद लामो समयदेखि रिक्त रहँदा हकप्रद शेयर तथा आईपीओ स्वीकृति प्रक्रिया प्रभावित भए पनि कम्पनीहरूले आवेदन दिने क्रम जारी राखेका छन्।

सेबोनको पछिल्लो तथ्यांकअनुसार हाल २५ वटा कम्पनीले कुल २५ अर्ब ४७ करोड ७७ लाख रुपैयाँभन्दा बढीको हकप्रद शेयर निष्काशनका लागि अनुमति मागेका छन्। तीमध्ये अधिकांश आवेदन प्रारम्भिक समीक्षाको चरणमा रहेका छन्।

हालै पिपुल्स हाइड्रोपावर कम्पनी र अरुण काबेली पावर लिमिटेडले पनि हकप्रद शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन्। पिपुल्स हाइड्रोपावरले १ः१ अनुपातमा १ अर्ब ९ करोड ५० लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न प्रस्ताव गरेको छ भने अरुण काबेली पावरले २ः१ अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्न अनुमति मागेको छ।

धितोपत्र बोर्डले पछिल्लोपटक गत फागुनमा हिमालयन पावर पार्टनरलाई हकप्रद निष्काशनको स्वीकृति दिएको थियो। त्यसयता कुनै पनि कम्पनीले अन्तिम अनुमति पाउन सकेका छैनन्।

प्रारम्भिक समीक्षामा रहेका कम्पनीहरूको सूचीमा जलविद्युत् क्षेत्रको वर्चस्व देखिएको छ। बाराही हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, माइखोला हाइड्रोपावर, सगरमाथा जलविद्युत्, सायापत्री हाइड्रोपावर, राधी विद्युत् कम्पनी, पाँचथर पावर, दोल्ती पावर, भूगोल इनर्जी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, मोदी इनर्जी, हिमालयन हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर तथा अरुण काबेली पावरलगायत कम्पनीहरू स्वीकृतिको प्रतीक्षामा छन्।

उत्पादनमूलक क्षेत्रबाट घोराही सिमेन्ट इन्डस्ट्रिजले सबैभन्दा ठूलोमध्ये एक, ३ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको हकप्रद प्रस्ताव गरेको छ। यस्तै नेपाल ल्युब आयल, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, ओरिएन्टल होटल्स, कालिञ्चोक दर्शन, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीले पनि हकप्रद निष्काशनका लागि आवेदन दिएका छन्।

यसबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सका आवेदनहरू थप समीक्षा तथा स्पष्टीकरणको चरणमा रहेका छन्। बोर्डले मागेका विवरण तथा संशोधनसम्बन्धी प्रक्रिया पूरा भएपछि मात्रै ती आवेदनहरू अगाडि बढ्नेछन्।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म भने सात कम्पनीले हकप्रद निष्काशनको अन्तिम स्वीकृति प्राप्त गरेका थिए। ती कम्पनीहरूले करिब ४ अर्ब ९४ करोड रुपैयाँ बराबरको पूँजी हकप्रदमार्फत जुटाउन अनुमति पाएका छन्। स्वीकृति पाउने कम्पनीहरूमा शिवश्री हाइड्रोपावर, सिटी होटल, रिभर फल्स पावर, नारायणी डेभलपमेन्ट बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर, युनाइटेड अजोड इन्स्योरेन्स र हिमालयन पावर पार्टनर रहेका छन्।

धितोपत्र बोर्डले भने पाइपलाइनमा नाम परेकै आधारमा कुनै पनि कम्पनीलाई हकप्रद निष्काशनका लागि योग्य ठान्न नहुने स्पष्ट पारेको छ। कम्पनीहरूले बुझाएका वित्तीय विवरण, कानुनी कागजात तथा अन्य आवश्यक सूचनाहरू नियामकीय मापदण्डअनुसार पूर्ण र सन्तोषजनक भएपश्चात् मात्र अन्तिम स्वीकृति प्रदान गरिने बोर्डको भनाइ छ।

बोर्डले लगानीकर्तालाई पनि केवल आवेदन परेको आधारमा लगानी निर्णय नगर्न र सम्बन्धित कम्पनीको अवस्था तथा बोर्डबाट प्राप्त हुने अन्तिम स्वीकृतिबारे जानकारी लिएर मात्र निर्णय गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय