सीजी नेटले आतिज भए ग्राहक- स्पीड छैन, बारम्बार समस्या, फोन लाग्दैन

काठमाडौं - करीब ६ महिना पहिले आक्रमक बजार विस्तार गर्ने रणनीतिका साथ बजार प्रवेश गरेको CG नेट प्रति ग्राहकको गुनासो बढ्न थालेको छ । 

आकर्षक मूल्यमा १२० एमबीपीएस स्पीड दिने गरी सेवा सुरु गरेको कम्पनीका अहिले ८ हजार हाराहारीमा ग्राहक पुगेको बताइन्छ । ग्राहक बढ्दै जाँदा गुनासो र समस्या पनि थपिँदै गइरहेको छ । सुरुका केही महिना राम्रै रहेको कम्पनीको सेवामा अहिले भने ग्राहकको आक्रोस बढ्दै गइरहेको छ । सो कम्पनी प्रति ग्राहकको मुख्य गुनासोहरु यस्ता छन् 

१ स्पीड

एक बजारमा १२० एमबीपीएस स्पीड दिने भनेर सेवा सुरु गरेको कम्पनीले त्यसको व्यस्थापन भने गर्न सकेको छैन । पिक आवरमा कम्पनीले आफूले प्रतिबद्धता जनाएको स्पीड दिन सकिरहेको छैन । विशेष गरी बेलुकीको समय नेट निकै स्लो हुने कम्पनीका प्रयोगकर्ताको गुनासो छ । 

२.पटक पटक प्राविधिक समस्या

कम्पनीले समाधान गर्न नसकेको अर्को समस्या हो प्राविधिक समस्या । गत हप्ता ३ पटक सम्म इन्टरनेटमा प्राविधिक समस्या आएको थियो । त्यो समस्या १२ घण्टा सम्म पनि समाधान भएको थिएन । प्राय सर्वर डाउन भइरहने समस्या भोग्नु परेको गुनासो छ । इन्टरनेट आएपनि फेसबुक बाहेक अरु नचल्ने उसको समय बारम्बार दोहोरी रहन्छ । जसको धेरै आलोचना हुने गरेको छ । कम्पनीले भने आफ्नो मुख्य स्टेशनमा समस्या आएर त्यस्तो भएको बताउँदै आएको छ । 

३. बिजोक ग्राहक सेवा

कम्पनीको आफ्टर सेल्स सेवा निकै कमजोर रहेको छ । कम्पनीले प्रदान गरेको ग्राहक सेवा नम्बरमा फोन लाग्दै नलाग्ने,धेरै विजी भन्ने, लागे पनि हत्त पत्त नउठ्ने समस्या धेरै छ । 

कम्पनीको मर्मत सेवा पनि निकै सुस्त छ । कतिपय ठाउँमा त ३/४ दिन सम्म पनि मर्मत गर्न कोही नपुगेको ग्राहकको गुनासो छ । 

प्रतिक्रिया