काठमाडौं । हर्क साम्पाङ राईमाथि ज्यान मार्ने तथा घर जलाउने धम्की आएको घटनाप्रति श्रम संस्कृति पार्टीका चितवन जिल्ला प्रवक्ता शिव शर्माले गम्भीर आपत्ति जनाएका छन्। उक्त घटना लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भएको उनले बताएका छन्।
शर्माले फरक विचार राख्ने व्यक्तिमाथि धम्की दिनु अस्वीकार्य भएको उल्लेख गर्दै लोकतन्त्रको मूल आधार असहमति र बहसको सम्मान हुनु पर्ने बताएका छन्। उनले यस्ता गतिविधिले समाजमा डरको वातावरण सिर्जना गर्ने र नागरिकको स्वतन्त्रता कमजोर पार्ने चेतावनी दिएका छन्।
घटनालाई गम्भीर रूपमा लिँदै आफूहरूले केन्द्रीय अनुसन्धान ब्युरो (CIB)मा उजुरी दर्ता गरिसकेको जानकारी उनले दिएका छन्। सम्बन्धित निकायले निष्पक्ष, पारदर्शी र छिटो छरितो रूपमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने उनको माग छ।
सरकारले निष्पक्ष भूमिका खेल्न नसके जनविश्वास गुम्ने उल्लेख गर्दै सर्माले कानून सबैका लागि बराबर रूपमा लागू हुनुपर्नेमा जोड दिएका छन्। दोषीमाथि समयमै कारबाही नभए शान्तिपूर्ण तथा कानुनी सीमाभित्र रहेर कडा आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी दिएका छन्।
शर्माले आफूहरू सधैं शान्तिपूर्ण, कानुनी र लोकतान्त्रिक बाटोमा रहने स्पष्ट पार्दै अन्याय र धम्कीका विरुद्ध आवाज उठाउनु नागरिकको अधिकार र दायित्व दुवै भएको बताएका छन्। उनले संवाद, बहस र विचारको आदानप्रदानबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।
धम्की घटनालाई सामान्य रूपमा नलिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गर्दै उनले कानुनी प्रक्रिया सुदृढ बनाउन र पीडितलाई न्याय दिलाउनुपर्ने बताएका छन्।