सेभिया (स्पेन) — प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारका लागि नागरिक समाज र सरकारबीचको सहकार्य आवश्यक रहेको बताएका छन्। आइतबार सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले विकासशील मुलुकहरूलाई वित्तीय लगानी र विकासका लागि आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री ओलीले नागरिक समाजको भूमिका परिवर्तनका लागि उत्प्रेरक भएको उल्लेख गर्दै सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्यमा आधारित समाज निर्माणमा नेपालको स्पष्ट अडान रहेको बताए। उनले समावेशीता, आवश्यकता र समानुपातिक आधारमा विश्वव्यापी लगानी हुनुपर्ने धारणा राखे।
कार्यक्रममा स्पेन सरकारकी उपाध्यक्ष काल्भो पोयाटोको सहभागिता रहेको थियो। ओलीले निजी क्षेत्रको पुँजीमार्फत रोजगारी सिर्जना, समावेशी वृद्धि प्रवर्द्धन र स्रोत परिचालनमा सबैको साझा दायित्व रहेको उल्लेख गरे।
नागरिक समाजको उक्त सत्रबाट पारित घोषणापत्रलाई संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ले स्वीकृति दिनेछ। प्रधानमन्त्री ओली सो सम्मेलनमा भाग लिन स्पेनको औपचारिक भ्रमणमा छन्।