नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, आफ्ना कर्मचारीहरू तथा सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँड गरिसकेको थियो। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरिएको हो।

कम्पनीले कुल २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो, जसअनुसार २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ६७ हजार ५०० कित्ता कर्मचारीका लागि र १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। बाँडफाँडपछि अब बाँकी १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।

प्रतिक्रिया