काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी जिल्लामा हालै भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ भने घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
मंगलबार जारी विज्ञप्तिमा रास्वपाले कुनै पनि समस्या वा विवादको समाधान हिंसा र मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै नेपाली समाजको बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। पार्टीले साम्प्रदायिक सद्भाव खलबल्याउने गतिविधि नगर्न तथा अफवाह र उत्तेजनाको पछि नलाग्न नागरिक, सामाजिक अगुवा, धार्मिक व्यक्तित्व र सरोकारवाला पक्षसँग अपिल गरेको छ।
रास्वपाले वर्तमान संवेदनशील परिस्थितिमा शान्ति–सुरक्षा कायम गर्न, नागरिकको जिउधनको रक्षा गर्न र अवस्था सामान्य बनाउन सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ। साथै, घटनाको स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित न्याय, क्षतिपूर्ति र निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
पार्टीले आफू शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा दृढ रहेको उल्लेख गर्दै संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न आवश्यक सकारात्मक भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ।
रास्वपाले घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न सबै राजनीतिक दल र सम्बद्ध पक्षसँग आग्रह गर्दै आफ्ना स्थानीय समिति तथा कार्यकर्तालाई पनि शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सहयोगी भूमिका खेल्न निर्देशन दिएको छ।