Symbolic photo
ढोरपाटन – ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप आज साँझ ५ः४५ बजे दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उनको भनाइ छ।
जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताए। ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार ६ जना घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्रादेशिक अस्पताल पठाइएको छ भने दुई वटा शव सङ्कलन भइरहेको छ। उपप्रमुख कायतले भने, ‘हामी घटनास्थल आइपुगेका छौँ, अहिले घाइतेको उद्धार गरी प्रहरी र नगरपालिकाको गाडीमा अस्पताल पठाइरहेका छौँ, दुई जनाको मृत्यु भएको छ, शव सङ्कलनको प्रयास भइरहको छ।’