काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुने स्पष्ट पार्दै यसका लागि सरकारले आवश्यक सबै तयारी तीव्र रूपमा अघि बढाइरहेको बताएकी छन् ।
सिंहदरबारमा इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको मुख्य दायित्व शान्ति स्थापना गर्दै संविधानअनुसार समयमै निर्वाचन सम्पन्न गराउनु रहेको उल्लेख गरिन् । निर्वाचन सम्पन्न भए मात्र मुलुकमा दिगो शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रक्रिया बलियो हुने उनको भनाइ थियो । भेटका क्रममा उनले युवाहरू नेतृत्वमा आउनुपर्ने आवश्यकता औंल्याउँदै नयाँ पुस्ताको सहभागिताले मात्रै शासन प्रणालीलाई प्रभावकारी र समयअनुकूल बनाउन सकिने धारणा राखिन् ।
जवाफमा नेम्वाङले निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै आफू पनि चुनावको तयारीमा रहेको जानकारी गराए । साथै उनले इलाम जिल्लामा बाढी र पहिरोका कारण क्षतिग्रस्त राजमार्ग तथा पुल पुनर्निर्माणमा सरकारको ध्यान आवश्यक रहेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । प्रधानमन्त्री कार्कीले यस विषयमा सरकार गम्भीर रहेको र सम्बन्धित मन्त्रीबाट स्थलगत अनुगमन भइसकेको जानकारी दिँदै आवश्यक काम अघि बढाइने आश्वासन दिइन् ।