काठमाडौं — नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पद थप्ने, पदाधिकारी संख्या घटाउने तथा उमेर र कार्यकालको सीमा हटाउने प्रस्ताव पेश गरिएको छ।
बिहीबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गरेका हुन्। प्रस्तावमा हालको १९ सदस्यीय पदाधिकारी संख्या घटाएर ११ सदस्यीय बनाउने र ७० वर्षे उमेर सीमा तथा दुई कार्यकालको सिमासमेत हटाउने उल्लेख छ।
तर, पदाधिकारी संख्या कटौतीको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका सचिवालय सदस्यहरूले असहमति जनाएका छन्। उनीहरूको धारणा अनुसार ठूलो पार्टीमा पदाधिकारी घटाउँदा नेताहरूको जिम्मेवारी बाँडफाँडमा समस्या आउन सक्छ।
बैठक दिउँसो २ बजेदेखि सुरु भई जारी रहेको छ। बैठक लम्बिएपछि नेताहरूलाई खाजाको लागि विश्राम दिइएको छ।
विधान संशोधनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष फाइदा पुग्ने देखिएको छ। उनी नवौँ र दशौँ महाधिवेशनबाट दुई कार्यकाल अध्यक्ष भइसकेका छन् भने हाल ७४ वर्ष उमेर पुगेका छन्। यसअघि नै ओलीले ७० वर्षे उमेर हद हटाउनु पर्ने अभिव्यक्ति दिइसकेका थिए।